दफा ६०२
ढुवानी सम्बन्धी करार भएको मानिनेः

(१) एक ठाउँबाट अर्को ठाउँमा कुनै वस्तु ढुवानी गर्ने सम्बन्धमा करार भएकोमा ढुवानी सम्बन्धी करार भएको मानिनेछ ।
(२) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक वस्तु ढुवानी गर्दा वस्तुको धनीले ढुवानीकर्तालाई वस्तु बुझाएका बखत दिइने रसिद वा भरपाईलाई ढुवानीकर्ता र वस्तुको धनी बीच करार भएको प्रमाण मानिनेछ ।
स्पष्टीकरणः: यस परिच्छेदको प्रयोजनको लािग “ढुवानीकर्ता” भन्नाले हवाई यातायात वा सामुद्रिक यातायात बाहेकका यातायात सञ्चालन गर्ने वा त्यस्तो कार्यको व्यवसाय गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले आन्तरिक जल यातायात वा रज्जुमार्ग (रोपवे) वा जनावर मार्फत वा अन्य कुनै किसिमले ढुवानी व्यवसाय सञ्चालन गर्ने व्यक्तिलाई समेत जनाउँछ ।
तर वस्तुको धनीले ज्यालामा काम लगाएको व्यक्ति वा निजको प्रतिनिधि वा निजको मातहतमा काम गर्ने व्यक्तिले वस्तु ढुवानी गरेकोमा यस परिच्छेदको प्रयोजनको लागि ढुवानीकर्ता मानिने छैन ।